एआईको कमाल र मानव सभ्यताको इतिहास
मानव सभ्यताको इतिहास भन्नु चुनौती नै चुनौतीको फेहरिस्त हो । एउटा नौलो चुनौती आउँछ र मानव जातिले त्यसलाई पचाउँछ वा जित्छ । एवं रीतको संघर्ष गर्दै मानव पुर्खाले यात्राका अनेकौं घुम्ती पार गर्दै वर्तमानको विश्व सुम्पेको छ । त्यस्ता असंख्य चुनौतीमा प्रविधिको विकास पनि हो । दू्रतत्तर गतिमा बदलिरहेको वर्तमान समयमा प्रविधिको विकासमा पनि द्रूतत्तर गति लिइरहेको पाइन्छ । अहिले थुप्रै प्रकारका आर्टिफिसियल इन्टेलिजेन्सको चर्चा छ ।
यो एउटा कम्प्युटर प्रोग्रामिङ सफ्टवेर हो । मान्छेले यसमार्फत् आदेश दिनुपर्दछ, उसले खुरुखुरु काम गर्छ । केही जानकारी चाहियो ? प्रश्न गर्नुपर्छ, जवाफ दिन्छ । त्यत्ति जवाफले पुगेन ? पुगेन भने थपिमाग्न पनि सकिन्छ । र, थपेर दिन्छ । चिठी लेख्नु प¥यो ? चाहिने कुराहरू भन्दिनु पर्दछ, चिठी तयार हुन्छ । लमो भयो ? छोट्याउनु पर्यो ? लम्ब्याउने हो कि छोट्याउने, भन्नु मात्रै पर्यो, खुरुक्क गरिदिन्छ । अथवा, यति शब्दमा लेखिदिनु भनेर पहिल्यै पनि भन्न सकिन्छ । मानसपटलमा एउटा चित्र नाचिरहेको छ ? भन्नुमात्र पर्दछ, चित्रकला तयार हुन्छ । आफ्नै क्यामेराले खिचेको फोटोमा केही कमी भयो वा बिग्रियो ? भन्नु पर्दछ, सुधारिदिन्छ । आफ्नो गीतको लागि संगीत चाहियो ? संगीतकार खोज्नु पर्दैन, कम्प्युटरले नै संगीत तयार पारिदिन्छ, सच्याउनु प¥यो ? सच्याइदिन्छ । संगीतकारलाई खोज्नु, खोजेर पनि बुझाउनु र सिर्जनाका लागि समय लगाउनु तथा रेकर्डिङलगायतको झमेला अब छैन । गायक चाहियो ? गायक पनि भनेजस्तो तयार हुन्छ । लेखक हुन मन लाग्यो ? च्याट जिपिटीलगायत थुप्र एआइहरु तम्तयार भएर बसिरहेको छ । हाम्रो काम आदेश दिनुमात्रै हो । हिजोसम्म लेखेर लेखक हुन्थ्यो भने अब आदेश दिएर लेखक हुन पाउने भएको । यही हो पछिल्लो समयको आतंक । मान्छेले अब केही गर्नु पदैन, सबै कम्प्युटरले नै गर्दिने हो भने मान्छेको के काम ? यसले सिर्जनालाई नै चुनौती दियो । मानव जातिको विकास क्रमलाई नै यसले असर पार्न सक्छ र यस्तो प्रविधिको विकासमा प्रतिवन्ध लगाउनु पर्छ भन्ने चिन्तन पनि चल्न थालेको छ । तर प्रतिबन्धको चिन्तनभन्दा बढी फैलिँदो छ विश्वभर यो प्रविधिलाई अपनाउनेहरू ।
साँच्चै यो प्रविधिले सिर्जनालाई असर पार्छ त ? मानव जातिको विकासलाई ठप्प पारिदिन्छ त ? यसबाट हामी डराउनु पर्दछ त ?
मलाई त्यस्तो पटक्कै लाग्दैन । बरु मानव जातिको विकासमा यसले थप यात्रा गर्न मद्दत गर्दछ ।
मानव सभ्यताको इतिहासमा आगोको खोजी एउटा युगान्तकारी घटना थियो । त्यस्तै अर्को घटना हो, पानीमा तैरिने मुढालगायतका वस्तुमा चढेर पानीमाथि यात्रा गर्ने र हुँदाहुँदै ठुल्ठुला पानी जहाजसम्मको विकास । यसरी नै पाङ्ग्राको विकास अर्को युगान्तकारी घटना हो । तीन वा चार पाङ्ग्राको वाहनमात्रै देखिरहेको मानवलाई दुई पाङ्ग्राको बाईसाइकल पत्याउँदो कु्रा नै थिएन तर भयो । अब त एक पाङग्रामा पनि यात्रा गर्ने गरिन्छ । आकाशमा उडाएर ल्याएको हवाईहजाह घरको झ्यालभित्र छिर्छ कि भन्ने डरले झ्याल थुनेर त्यसमा अडेस लगाएर बस्नेहरू आज एआईसँग आतंकित छ ।
एक समय थियो, जे चाहियो, कम्प्युटरमा पाइन्छ भन्ने धारणा । हिजोआजको भन्दा निकै थोरै मात्र मेमोरी पावर हुने त्यो जमानाको कम्प्युटरको बखान खुबै हुन्थ्यो । केही कुरा कसैसँग सोध्नु हुँदैन, गुगलमा पाइन्छ, याहूमा पाइन्छ, वा यस्तै रेफरेन्स दिएर मान्छेहरू आफ्नो बौद्धिकताको प्रदर्शन गर्दथे । यी सर्च इन्जिनहरूले इन्टरनेटमा पहिल्यै राखिएका सामग्रीहरू खोजेर देखाइदिने मात्रै हो । कुनै पुस्तकालयले बजारबाट पुस्तकहरु किनेर ल्याई थपक्क राखिदिएजस्तो । त्यहाँ जति छ, त्यति मात्रै देखाउन सक्छ । त्यहाँ भएन भने उसले देखाउन सक्दैन । यसको अर्थ त्यो कुरा हुँदैनभएको त होइन । इन्टरनेटमा भएकै सामग्री पनि सर्चइन्जिनले नभेटाउने बनाउन सकिन्छ । आफूलाई लागेको कुरा वा आफ्नो अनुभूति आफैले लेखेर कतै बेभसाइटमा नराख्दासम्म त्यसलाई खोजेर पनि नपाइँदो रहेछ भन्ने थाहा पाएपछि मान्छेले कम्प्युटरसँग सीमित क्षमता मात्रै रहेछ भन्ने कुरा जब महसूस भयो, हिस्स प¥यो । च्याट जिपिटीलगायत एआई उत्पादनहरु पनि त्यस्तै गरी सीमित क्षमताको एउटा प्रोग्रामिङ हो जसले आफ्नो सीमित क्षमतामा रहेछ जे पनि आदेश मान्छ ।
के कुराको जानकारी चाहियो ? मान्छेले जति माग्यो त्यति जानकारी च्याट जिपिटीहरुले दिन त दिन्छ तर त्यति मात्रै दिन्छ जति उसँग छ । उ आफै मान्छे होइन, उ आफैले सिर्जना गर्न सक्दैन । अझ थप कुरा, ती जानकारीहरू मान्छेले नै उपलब्ध गर्ने हो । मान्छेले उसलाई उपलब्ध नगराइदिएको कुरा आफूले हेरेर, खोजेर उपलब्ध गराउन सक्दैन । थप जानकारीका लागि मान्छे आफै फिल्डमा गएर तथ्याङ्कहरू संकलन गरी व्यवस्थित रूपमा दिनु प¥यो । यसले केही कुराको डिजायन त गरिदिन्छ तर पहिल्यै जति डिजायनिङ गरेर उसलाई दिइसकेको छ त्यत्ति मात्रै गर्ने हो । जति वटा संगीतको सिर्जना भइसकेको छ, त्यसैको आधारमा उसले अर्को संगीत उपलब्ध गराउने हो । अर्थात्, यी कुराहरू सीमित क्षमताका मानवनिर्मित मेशिन हो भने मान्छे असीमित क्षमताका धनी र सिर्जनशील मनमस्तिष्क भएको प्राणी हो । यी दुई कुराबीच तुलना हुनै सक्दैन ।
मान्छेलाई केही नयाँ कुरा गरिरहन मन लाग्छ । यही स्वभावले नै उसलाई अगाडि बढाउने हो । आआफ्नो क्षमताअनुसार काम गर्दछन् । कोही च्याट जिपिटीमै अडेर काम गरिरहँदा कोही यस्तै अन्य मेशिनहरूको निर्माण गर्दै रहेका हुन्छन् । हिजोआज कुनै पनि लेखनको अनुवाद कुनै पनि भाषामा तुरुन्तै हुन्छ तर मान्छेहरू कम्प्युटरको त्यो अनुवादमा चित्त बुझाएर बसेका छैनन् । अनुवाद पनि कला हो र अनुवादमा कला देखाउनेलाई कम्प्युटरको अनुवादले असर पारेको छैन । यसले केही सुविधा मात्रै दिएको हो । अन्य कुराहरूमा पनि यही कुरा लागू हुन्छ ।
पच्चीस सय वर्षअघि गौतम बुद्धले के उपदेश दिएका थिए भन्ने कुरा च्याट जिपिटी, ग्रोक, डीपसिक आदिले बताउन सक्छ । यस अघि कुन बेला, कहाँ, कुन उपदेश, कसरी, ककसको उपस्थितिमा दिएका थिए भन्ने कुरा सम्झेर राख्नु पर्दथ्यो र एकले अर्कोलाई सुनाउँदै संरक्षित राखिन्थ्यो । पछि ग्रन्थमा सुरक्षित पा¥यो । एउटा ग्रन्थले नपुगेर त्यसको प्रतिलिपि बनाउने तथा अनुवाद गर्ने गरिन्थ्यो । ग्रन्थमा रहेका यिनै कुराहरू पनि अन्य माध्यममा उपलब्ध हुनथाल्यो । ग्रन्थ अध्ययन वा जानकारी पाएकै आधारमा मान्छेले बुद्धका उपदेशहरूलाई आत्मसात गर्नसक्ने त होइन । यसका लागि श्रद्धा र साधना गर्नु पर्दछ । श्रद्धा र साधना गर्ने चेत यी आर्टिफिसियल इन्टेलीजेन्सहरुसँग हुँदैन । सबै साधकले उत्ति नै समय लगाएर साधना गर्दा सबैलाई समान रूपमा एउटै असर नपर्ने हुन्छ । सबैलाई आआफ्नो क्षमताअनुसार बोध हुने हो । बौद्ध साधकहरूलाई धर्मदर्शनको जानकारी र बोधको उत्कष्ट चाहना मात्रै भएर पनि पुग्दैन । यसका लागि सर्वप्रथम शीलको पालना गर्दै चित्तशुद्धि गर्नुपर्दछ । मैत्री, करुणा, मुदिता र उपेक्षाको भावना वृद्धि गर्नु पर्दछ । यी जम्मै कुरा च्याट जिपिटीजस्ता एआईहरुहरूमा संभव हुँदैन ।
गौतम बुद्ध र बौद्ध साधनाको प्रसङ्ग यहाँ उदाहरणका लागि प्रस्तुत गरेको मात्रै हो, यस्ता अनेकौं कुराहरूलाई अगाडि सार्न सकिन्छ । यी कुराहरूको उपलब्ध ठुल्ठुला पुस्तकालय तथा विभिन्न प्रविधिमार्फत एक ठाउँमा एकीकृत रूपमा उपलब्ध गएको सन्दर्भलाई विचार गर्दा प्रविधिहरूले तुरुन्त उपलब्ध गराइदिएको मात्रै हो, कुनै दक्ष कर्मचारीले उपलब्ध गराइदिएको जस्तो हो ।
जानकार हुनु नै विद्वान हुनु होइन । जानकारी त पार्टपुर्जाजस्तै हुन्, त्यसैको आधारमा विचार निर्माण गर्ने हो । विचार निर्माणको काम मानिसले गर्ने हो, च्याट जिपिटी’ जस्ता आर्टिफिसियल इन्टेलीजेन्सले होइन । तर यही उत्पादन हेरेर कोकोहोलो मचाउने तथा मानव जातिकै लागि चुनौती भनेर तर्सनु स्वयं मानव जातिलाई नचिन्नु वा बिर्सनु हो । आर्टिफिसियल इन्टेलीजेन्स देखेर तर्संदै गर्दा त्यसलाई बनाउने मानव जातिलाई बिर्संदै गर्नु बरु ठुलो गल्ती र खतरा हो ।
‘‘च्याट जिपिटी’ जस्ता आर्टिफिसियल इन्टेलीजेन्सहरू थोरै दासको ठाउँमा अझ धेरै बलियाबांगा दासहरू पाउनु हो । हिजो एउटा काम सकाउन हप्तौं दिन लाग्दथ्यो भने अब थोरै समयमा सकिन्छ । यसको अर्थ, अब त्यही समयमा धेरै काम सकाउने अवसर छ । भनेको जस्तै काम प्रविधिले नै गरिदिने भएपनि मान्छे त्यसैमा चित्त बुझाएर बस्न सक्ने त हुँदै होइन । मौजुद उपलब्धीमाथि टेकेर अर्को उपलब्धी खोज्दै गर्ने मानव जातिका लागि च्याट जिपिटी’ ग्रोकलगायतका सयौं सफ्टवेयरहरु चुनौती होइन, अवसर मात्रै हो । मानव जातिको इतिहासले यही भन्छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment