पोखरी र संस्कृति

पोखरी फगत पानीको भण्डार होइन । होला अरुतिर, त्यो बेग्लै कुरा। काठमाडौंको नेवार जनजीवनमा पोखरीको अर्थ प्रायः धर्म, संस्कृति, कला र इतिहास जोडिएको हुन्छ अथवा यी कुराहरुको खुल्ला संग्रहालाय भइरहेको हुन्छ । त्यसैले पोखरी फगत पानीको भण्डार होइन । अन्त भएपनि कम्तीमा काठमाडौं उपत्यकामा हुँदैन ।
काठमाडौं उपत्यका मन्दिरै मन्दिरले भरिएको सहर मात्रै होइन, पोखरी नै पोखरीको पनि हो । विशेषतः भक्तपुर जिल्लामा ठूल्ठुला पोखरीहरु देख्न पाइन्छ । लिच्छविकालमा खोपृङ नामबाट प्रख्यात यसको नामले अझै पनि निरन्तरता पाइ नै रहेको छ, “खोप” भनेर । भादगाउँ वा भक्तपुर त हिजोआज मात्रै राखिएको नाम हो । एक समय पूरा नेपालको राजधानी थियो, भक्तपुर । ऐतिहासिक सामग्रीहरुले भन्छ, राजधानी बनेको बेलामा मात्रै होइन, त्योभन्दा पहिल्यैदेखि यो कला र संस्कृतिले सम्पन्न थियो र शक्तिशाली पनि । राजा यक्ष मल्लको निधनपछि राय मल्ल राजा त भए तर भाई रत्न मल्लको महत्वाकांक्षालाई तह लगाउन नसक्दा कान्तिपुरलाई छुट्टै राजधानी बनाई बेग्लै राज्य बनाए अर्थात् नेपाललाई खण्डित बनाए । पछि ललितपुर छुुटियो । यस प्रकार मध्यकालमा नेपाल तीन बेग्लाबेग्लै राज्यमा बाँडियो । यो बेला एक राज्यले अर्को राज्यबीच विकास निर्माणमा प्रतिस्पर्धामात्रै नभएर एकअर्काको कलासम्पदा लुट्ने पनि गरिन्थ्यो । कान्तिपुरमा राजा प्रताप मल्लले रानीपोखरी बनाउनुअघि नै भक्तपुरमा रानीपोखरी बनिसकेको थियो र प्रख्याती पनि फैलिएको थियो । भक्तपुर आक्रमण गर्न आएका राजा प्रताप मल्लले यही रानीपोखरीबाट कलाकृतिहरु उठाएर लगी आफ्नो राज्यमा रानीपाखरीको निर्माण गरेका थिए । शाहकालमा लामो समयदेखि सैनिक इलाकाभित्र रहेको भक्तपुरको रानीपोखरी हाल भक्तपुर नगरपालिकाको मातहतमा आएको छ र सर्वसाधारणका लागि सार्वजनिक रुपमा खुल्ला छ ।
रानीपोखरीको सँगै छ, सिद्धिपोखरी । जमीनको सतहभन्दा माथि उठाएर बनाएको यो पोखरीमा पानी जम्नु नै उदेकलाग्दो छ, सोसिएर गएको छैन । सिद्धिपोखरीपछि अर्को पोखरी आउँछ, नःपुखू । नःपुखू भूसतहमा छ । विशाल भूक्षेत्रमा फैलिएको मनोहर पोखरी हो यो । लहरै रहेका यी तीन पोखरीको दक्षिणमा बाटो ठुलो बाटो छ भने बाटोपछि घरहरु लहरै उभिएका छन् । घरपछि पुनः अर्को विशाल पोखरी आउँछ, भाजु पुखू । थोरै थोरै दुरीभित्र रहेका यी चार पोखरी, पोखरी मात्रै होइन, संस्कृतिको केन्द्र पनि हो । यसदेखि बाहेक यही जिल्लामा अरु पोखरीहरु पनि छन् । प्रत्येक पोखरीको आफ्नै इतिहास र संस्कृति जोडिएको छ र जीवन्त छ ।
(शब्द र फोटो: बसन्त महर्जन)







Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment