असल पुस्तकमा लेखिएका कुराहरू वास्तविक घटना भन्दा पनि सत्य
विश्वविख्यात महान आख्यानकार अर्नेष्ट हेमिंग्वे (१८९९–१९६१) आफ्नो ‘बाई–लाइन : अर्नेष्ट हेमिंग्वे’ मा लेख्छन्, ‘‘असल पुस्तकमा लेखिएका कुराहरू वास्तविक घटना भन्दा पनि सत्य हुन्छन् ।’’
साहित्यमा नोवेल पुरस्कार पाइसकेका अर्नेष्ट हेमिंग्वेको माथि उल्लेखित पुस्तकको वाक्य अलि विरोधाभाष पूर्ण देखिन्छ । उनले भन्न खोजेको कुरा पुस्तकमा वर्णित घटना काल्पनिक नै भए पनि वास्तविकजस्तै हुन्छन् भन्ने हो । उनको यस वाक्यलाई बुझ्नको लागि हामीलाई उनकै साहित्य पढ्नु अनिवार्य हुन आउँछ । आफ्नो साहित्यमा दृष्य वर्णन यति विघ्न राम्रोसित गर्छन् कि पाठक, आफू पाठक नभएर दर्शकको रूपमा अनुभव गर्न पुग्छन् अथवा लेखक मात्र नभएर पाठक त्यहाँ आफ्नै उपस्थिति देख्न पुग्छन् ।
वास्तवमा साहित्यको लागि यस्तो हुनु आवश्यक मात्रै नभएर अनिवार्य पनि हो । तर जो कोही लेखकमा यस्तो गुण हुन सक्दैन, प्रायः कम नै देखिन्छ । अर्नेष्ट हेमिग्वे उही पुस्तकमा असल पुस्तकको सामथ्र्य वा प्रभाबकारिताबारे पुनः लेख्छन्, ‘‘पुस्तक पढ्ने काम समाप्त भएपछि तपाईलाई आफ्नै जीवनमा त्यो घटना भएको अनुभव हुन जान्छ । पढ्न सकेपछि पुस्तकमा भएका घटनाहरू राम्रो भएपनि नभएपनि सुख दुःख, घटनाका पात्रहरू, ठाउँ, सबै कुराहरू आफ्नो रगतको कण कणमा यसरी घुलिन्छ कि त्यो तपाईकै अनुभव भएर जान्छ ।’’
हामी सिनेमा हेछौं । त्यसमा छायांकन गरिएका दृष्यहरूले दर्शकलाई रूवाउने, हसाउँने, उत्तेजित गर्ने आदि काम गर्दछन् । सिनेमामा देखिने करूण दृष्यले कोमल मनको दर्शकको आँखाबाट बरर आँशु झारेको पनि हामी देख्छौं । र त्यस्तै गरी कुनै मित्र वा कोही अरूका दुखद सुन्दा पनि हाम्रो मुटु नै फुट्ला कि जस्तो हुन्छ । अथवा भक्कानो पनि छुट्छ । तर सबै ठाउँमा यस्तो हुँदैन । यसको खास कारण, कुरा सुनाउने व्यक्तिको सामथ्र्य हो । यो सामथ्र्यलाई हामी कलाको नाम पनि दिन सक्छौं ।
दुखपूर्ण घटना सुनाएको तर हाँसो उठ्यो अथवा कुनै प्रतिकृया भएन वा झर्को लाग्यो भने सुनाउने व्यक्तिसित सुनाउने कला नभएको हो । फेरि त्यस्तो कलाको धनीले झूठो कुरा नै सुनाए पनि साँचो जस्तै गरी हाम्रो मन प्रभावित हुन खोज्दछ । यो त भयो सुनाउने कला, यो मान्छेको जन्मजात गुण पनि हुन सक्छ अथवा अभ्यास र साधनाबाट पछि विकसित पनि गर्न सकिन्छ । लेखन कला पनि यस्तै हो । अर्नेष्ट हेमिंग्वेले भनेका माथिका कुराहरू यही लेखन कलासम्वन्धी हो ।
कवितालाई कवितामा नलेखी कथामा लेख्ने सल्लाह हेमिंग्वे दिनु हुन्छ । जीवनमा कथा र उपन्यास अत्यधिक मात्रामा लेखेर वैभवपूर्ण र सानदार जीवन जिउने लेखक हेमिंग्वेले कवितातर्फ हात नबढाएको आफ्नो यही धारणा वा मान्यताले नै हो कि ? एउटा अनुमान । तर जे होस् कथा राम्रो हुनाको रहस्य ’हाउ इट् वाज’ भन्ने लेखमा यही कुरा लेख्छन् । कथा प्रभावकारी हुनुका रहस्य बताउँदै उही लेखमा उनी लेख्छन्– “त्यो काम त फेरि गाहो पनि छ ।“
केनेडी लाइब्रेरी (अमेरिका) मा सुरक्षित तर अप्रकाशित पाण्डुलिपि लेखमा हेमिंग्वेले लेखिराखेका छन्– “प्रथम पुरूष“ को भाषामा कथा लेख्दा साँच्चै तपाई माथि नै घटेको घटना पो हो कि जस्तो भान पर्न जान्छ । अझ तपाई माथि घटेको साँचो घटना नै भनेर विश्वास गरिराखेको हुन्छ । कथा यसरी लेख्न सकियो भने साँच्चै घटेको घटना भन्दा पनि सत्य भएर पाठकको अनुभव र सम्झनामा अंकित हुन पुग्छन् ।..... यस्तो हुनु पाठकको लागि अनुभव नै नगरी जीवनको अंश बन्न जान्छन् । तर यस्तो हुनु भनेको चानचुन कुरा भने पक्का पनि होइन ।“
यहाँनिर अर्नेष्ट हेमिंग्वे भन्दा बाहेकको एउटा अर्को लेखकको कथा सम्वन्धी केही छोटो चर्चा गर्नु उपयुक्त दखिन्छ । त्यो बेला म हाइस्कूलमा पढिरहेको विद्यार्थी थिएँ । एक दिन एउटा साप्ताहिक पत्रिकामा चर्चित कथाकारको नयाँ कथा छापिएको थियो । त्यो बेला म त्यसरी प्रकाशित हुने कथा तथा अन्य सामग्री बडो रुचीपूर्वक पढ्थें । कथामा एक जना समाज सेवी, भाषा मर्मज्ञको जीवन कथा र मृत्यु सम्वन्धी दिइराखेको थियो । एक चर्चित कथाकारले प्रथम पुरूषमै लेखिएको थियो त्यो । कथा पढेपछि बडो नमज्जा लाग्यो । अघिपछि कहिल्यै नाम नसुनेका ती समाजसेवीबारे कथामा राम्रैसित परिचय दिइएको थियो । भोलि पल्ट हामीलाई साहित्य पढाउने शिक्षिकालाई उक्त मान्छेको मृत्यु सम्वन्धी कुरा सुनाएँ । तर शिक्षिका भने त्यस्तो नाम भएको व्यक्ति यहाँ भएको कुरा पत्याउन तयार भइनन् । कथा लेखकको प्रख्यातिले गर्दा त्यत्तिखेर शिक्षिकालाई थाहा नभएको र आफ्नै जिद्दीमा रहने व्यक्तिको रूपमा लिएँ । तर पछि मात्रै थाहा पाएँ उक्त कथामा वर्णित सबै पात्रका नामहरू चिने जानेको नै तर घटना भने नितान्त काल्पनिक ।
अर्नेष्ट हेमिंग्वेले हार्भे ब्रीटलाई सन् १९५२ मा लेखन कलाको बारेमा एउटा पत्र लेखेका छन् । उक्त पत्रमा हेमिंग्वे लेख्छन्, ‘‘असल साहित्य दोहोरÞ्याई तेहराई पढ्दा पनि राम्रो हुनुको कारण वुझ्न सकिदैन । यसो हुनुको मूल कारण भनेको सबै असल साहित्यमा एउटा रहस्य लुकेर रहेको हुन्छ । तर त्यो रहस्यलाई अप्रेशन गरेर हेर्न भने सकिदैन । जति जति दोहोरई पढ्दै जान्छ त्यति त्यति नै एउटा एउटा गरी नयाँ कुरा पत्ता लाग्दै जान्छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment