१० असोज २०८३, शनिबार

नेवाःले नेवारलाई गाली गर्न थालेपछि


अ
अ+
अ-

कतिपय नेवारलाई के लाग्छ भने, आफूहरू नेवाः हो, नेवाः नै भन्नुपर्छ । गैर नेवारले नेवाः नामलाई बिगारेर र हेपेर नेवार भनिदिएको हो । यसरी नै बिगारेर न्यार पनि भनिदिएको हो । यसै सन्दर्भमा एक नेवारले त यतिसम्म पनि भन्न भ्याए, ‘‘आफैले आफैलाई नेवार भनी नेवाः समुदायको बेइज्जत गर्ने नेवारहरुलाई धिक्कार । हामी त नेवाः । खयँचाहरुले हेपेर भन्नु शब्द हो नेवार न्यार ।’’

विश्वमा भएका र चलनचल्तीबाट हराइसकेका सबै भाषाहरूको स्वभाव एउटै हुनुपर्छ भन्ने अनिवार्य छैन । भाषाको स्वभाव सँधै एउटै रहँदैन पनि । यो परिवर्तनशील हुन्छ । नेवारको नेपालभाषा पनि यसको अपवाद होइन । यत्ति कुरा मनमा राख्न सक्ने हो भने नेवाः र नेवारको सकस हुँदैनथ्यो । 

नेवारलाई जसरी नेवाः भनिन्छ, त्यसरी नै पसललाई पसः भनिएको हो । यसरी नै झ्याललाई झ्याः, ल्हातलाई ल्हाः, कपाललाई कपाः, आदि । यहाँ विसर्ग चिन्हको प्रयोग भएको छ । यस्तो प्रयोग हिजोआज मात्रै हुन थालेको हो । यसको प्रयोग गर्ने कि नगर्ने भन्ने प्रश्न वा विवाद आफ्नो ठाउँमा छ । म विसर्ग चिन्ह प्रयोग गर्नुपर्छ भन्ने पक्षमा छु । विसर्गप्रति आपत्ती हो भने यसको सट्टा कुनै अर्को चिन्ह प्रयोग गर्नुपर्दछ । होइन भने लेख्य परम्परामा अलमल पार्ने हुन्छ । यो चिन्हले गर्ने संकेत हो, बोलचालमा त्यो शब्द प्रयोग गरेपनि त्यही पूर्ण शब्द होइन, एउटा अक्षर लुकेर रहेको छ । उदाहरणका लागि पसः शब्दमा विसर्ग हुनुको अर्थ हो, ल अक्षर लुकेको छ र त्यसको पूर्ण शब्द पसल हो । अन्य शब्दहरू पनि यस्तै हाे । नेपालभाषा ह्रस्वमय भाषा हो तर बोलिचालीमा दीर्घ देखिए पनि ह्रस्व नै प्रयोग भइरहेको हुन्छ । 

पसः शब्दकै प्रयोगलाई उदाहरणको रुपमा लिऔं । सामान कहाँ छ ? भन्ने अर्थमा "गन दु ?" भनेर सोध्दा "सामान पसलय् दु" भन्नु पर्ने हुन्छ । यसरी नै सामान कहाँबाट ल्याएको भन्ने अर्थमा "गनं हयागु ?" भनेर सोध्दा "पसलं हयागु" भन्नु पर्ने हुन्छ । व्याकरणअनुसार तृतीया विभक्तिका रुपमा "पसलं" भनेर पसलको "ल"माथि शीरबिन्दूको प्रयोग भएको छ र सप्तमी विभक्तिका रुपमा पसलको लपछि "य्" प्रयाेग भएको छ । विभक्तिका रूपमा प्रयोगमा आएका शीरबिन्दू र हलन्तसहितको य् दुई चिन्ह हटाएपछि बाँकी रहन्छ, पसल, पसः होइन । यही क्रम झ्यालं र झ्यालय् हुन्छ, चिन्ह हटाएपछि झ्याल रहन्छ । बाँकी रहेको झ्याल नेपालभाषाको मूल शब्द हो भने बोलिचालीको क्रममा छोट्याएर झ्या भनेको मात्रै हो, प्रयोगको क्रममा झ्याल नै प्रयोग हुन्छ । 

‘नेवाः’ पनि पूर्ण शब्द होइन । यसको पूर्ण रूप ‘नेवाल’ हो । ‘ल’ र ‘र’मा भेद छैन । त्यसैले ‘नेवार’ पनि हुन्छ । नेवाः, नेवाल र नेवार उही एउटै शब्दको तीन रूप मात्रै हो । यसलाइ अझ राम्रोसँग प्रष्ट्याउन "नेपाल" शब्दलाई उदाहरणका रूपमा लिन सकिन्छ । नेपाललाई नेवारहरू ‘नेपाः’ मात्रै भन्छन् । पसलबाट र पसलमा भनेजस्तै नेपाललाई चलाउँदा "नेपालं" र ‘नेपालय्’ प्रयोग हुन्छ । यसमा प्रयुक्त शीरबिन्दू र हलन्त य झिक्दा बाँकी रहन्छ, नेपाल । अर्थात् ‘नेपाल’ पूर्ण शब्द हो । नेपाः भन्नु र नेपाल भन्नु उही हो । कतिपय नेवार "नेवाः" र "नेवार"मा अलमलिएजस्तै नेपाः र नेपालमा अलमलिएको पाइन्छ । जसरी "ल" र "र" मा भेद छैन, त्यसरी नै "प" र "व"मा भेद छैन अर्थात् "नेवाल" र "नेवार"मा भेद नभएजस्तै ‘नेवार’ र ‘नेपाल’ मा भेद छैन । नेपाल शब्दले भाैगोलिक क्षेत्रलाई मात्र जनाउँदैन, नेपाली भनेजस्तै जनसमुदायलाई पनि जनाउँछ । प्राचीन शिलालेखहरुमा ‘स्वस्ति नैपालभ्यः’ भनेर नेपालहरूको कुशल मंगलको कामना गरेको छ । ती नेपालहरु भनेका नेवारहरु, हिजोआजको भाषामा नेवाःहरु हुन् । 

नेवार होइन, नेवाः भन्नुपर्छ भन्ने आग्रह राखी टिप्पणी गर्ने ‘नेवाः’को बुझाईअनुसार नेवारलाई नेवाः भनेर नेवाः समुदायको बेइज्जत गरेको मान्नु भ्रमवश अनाहकमा गरेको हिनताबोध मात्रै हो । उनै टिप्पणीकर्ताका अनुसार नेवार भन्ने गैरनेवाःहरु खयँचाहरु हुन् । खयँचा शब्दको शुद्ध हिज्जे ‘खय्चा’ हुन्छ । खश वा खस समुदायलाई नेवारकरण गरेर बोल्दा वा लेख्दा ‘खय्’ हुन्छ (खय् को पूर्ण शब्द खस वा खश नै हुन्छ । य् प्रयोगमा पनि अक्षर लुकेको हुन्छ) । ‘चा’ को प्रयोग बडो अनौठो छ, हेपेर बोल्ने वा अत्यन्तै माया र आत्मियता दर्साएर बोल्ने बेलामा ‘चा’ प्रयोग हुनेगरेको पाइन्छ, आसय र सन्दर्भ बुझ्न सकिएन भने उल्टो पनि पर्नसक्छ । यहाँ हेपेको भनेर आक्रोश व्यक्त गर्ने क्रममा प्रयोग भएको छ । तर नेवार भनेर हेपेको होइन, नेवाः र नेवार उही हो भनेर बुझ्नु पर्दछ ।

Comments (2)

गणेश बहादुर थापा Sep 25, 2026 02:20
नर - ह्रश्व र नारी - दिर्घ हाे। नेबा: सनातन र नेवार भुतन हाे। सनातन, सधै रहने अर्थात बर्तमान present हाे भने भुतन बितेकाे अर्थात भुत past हाे। सत्य जान्न क्षर(महेश्वर) अक्षर (ब्रम्ह) बुझ्नु पर्छ।
छत्रराज बज्राचार्य Sep 24, 2026 09:37
बसन्त ज्यु , म कुनै अभियन्ता र त्यति ध्ययनशिल त होइन । तर मेरो बुझाइ अनुसार नेपाल नेवाः नेवार सम्बन्धमा नेपाल मण्डल वा नेपाल देशबाट नै नेपाः नैवाः बनेको मेरो ठम्याई हो । किनकि यहाँ पसेर यहाँ बस्नेहरुलाई नेवाः नै भनिन्छ। जस्तै नेवाः मुस्मा नेवाः मारवाडी भनिन्छ। नेवार मुस्मा नेवार मारवाडी भनेको सुनेको छैन । यो नेवार शब्द यहाँ अतिक्रमण वा आक्रमण भए पछि मात्र यो नेवार शब्द उनीहरूबाट आएको शब्द हो । नेपालीभाषा र नेपालभाषामा पनि यसो नियालौं । नेपालभाषा उहिले देखि अहिलेसम्म नेपालभाषानै हो । तर नेपालीभाषा शब्द करिब १०० पहिले मात्र राखेको हो । उदाहरण " गोरखाभाषा प्रकाशन समिति " बाट अहिले " साझा प्रकाशन " भएको छ । अर्को उदाहरण गोरखापत्र लिन सकिन्छ ।अहिलेको सन्दर्भमा सम्पूर्ण नेवाः नेपाली हुन र सम्पूर्ण नेपाली नेवाः हुन । यो सबैले हेक्का राख्नुपर्छ। जय नेपाल 🙏🏻
Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

मेगु पोस्त: बसन्त महर्जन

छिं लेखकाः मेगु लेख
‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

नेवार समाजमा प्रचलित ‘सम्हय् बजि’लाई विभिन्न परिकारसहितको नेवार खाजा सेट भन्ने अर्थमा मात्र बुझ्नु वास्तवमा यसबारे केही ...

यँयाः (इन्द्रजात्रा)को कथामा इतिहासको खोजी

यँयाः (इन्द्रजात्रा)को कथामा इतिहासको खोजी

प्रायः सोचिरहेको हुन्छु, इतिहास कसरी हराउँदै जान्छ र मिथकका रुपमा कथा कहानीहरू किन बढ्दै जान्छ ? हिन्दू धर्मका पुराणहरूम...

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम

इन्द्रजात्रा नाममा प्रसिद्ध सांस्कृतिक उत्सवलाई नेवार भाषामा यँयाः......

होस/बेहोस (लघुकथा)

होस/बेहोस (लघुकथा)

मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा......

बौद्ध चारधामको महत्व

बौद्ध चारधामको महत्व

विश्व बौद्धजगत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बोधिलाभस्थल बोधगया, प्रथम धर्मचक्रप्रवत्र्तनस्थल सारनाथ र महापरिनिर्वाणस्...

आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्