११ असोज २०८३, आइतबार

नेवारको सन्दर्भमा किराँतको प्रसङ्ग


अ
अ+
अ-

काठमाडौं उपत्यका वा नेवारको इतिहासमाथि चर्चा गर्दा किरातको प्रसङ पनि सँगसँगै आउँछ । किराँतलाई उपेक्षा गरेर नेवार इतिहासलाई अगाडि बढाउन सकिन्न पनि । तर इतिहासलाई समग्र रुपमा हेर्न सकिएन भने भुलभुलैयामा हराइराख्ने जोखिम पनि छ । वर्तमान नेपालको पूर्वी क्षेत्रमा बसोवास गर्ने किराँत समुदायको दावी छ, आफूहरूलाई लिच्छविहरूले पूर्वतर्फ धपाएको हो । उनीहरूका अनुसार प्रथम किराँत राजा यलम्बरले काठमाडौं उपत्यकामा राज्यसत्ता स्थापना गरेका थिए र आफ्नो पुख्र्यौली भूमि काठमाडौं उपत्यका हो । यो भनाई स्वयं किराँत व्याख्याहरूसँग नै बाझ्छ । इतिहासको यो अहं प्रश्नमाथि विचार गर्नु जरुरी छ । 

किराँत आख्यानअनुसार यो जनसमुदाय दक्षिणबाट पहाड उक्लेका हुन् । उनीहरू अरुण नदीको किनारै किनार दक्षिण उक्लिने क्रममा खुवालुङ्को प्रसङ्ग आउँछ र त्यही खुवालुङले उनीहरूलाई अझ माथि जाने बाटो खुलाइदिएको थियो । त्यसपछि उनीहरू वर्तमान नेपालको पूर्वी क्षेत्र भोजपुर, खोटाङ, दिक्तेल आदि क्षेत्रमा प्रवेश गर्न सकेका थिए । त्यही भएर अरुण नदीबीच रहेको खुवालुङ भनिने ठूलो ढुंगालाई आफ्नो पहिचानसँग जोड्न चाहन्छन् । खुवालुङले गर्दा नदी साँघुरो भएको र मोटरबोट चलाउन बाधा परेको भन्दै फुटाउने योजना बनाउँदा किराँत समुदाय तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध उर्लेको थियो । यसबाट बुझिन्छ, किराँतहरू पूर्वमा काठमाडौं उपत्यकाबाट गएका होइनन् । 

खुवालुङ् हुँदै किरात समुदाय वर्तमान पूर्वी भेकमा कहिले प्रवेश गरेका हुन् भन्ने कुरा बेग्लै प्रश्न हो । यहाँ मुख्य प्रश्न किराँतहरू काठमाडौं कहिले प्रवेश गरे भन्ने हो । काठमाडौं उपत्यकामा किराँतको प्रवेशअघि यो भूमि जनशून्य थिएन । यहाँ पहिल्यैदेखि आएर बसोवास गरिरहेको जनसमुदाय थियो । भनिएअनुसार काठमाडौं उपत्यका थालनीमा ठूलो तलाउ भएको र त्यस तलाउको पानी सुकेपछि मानव वसोवासयोग्य भूमि बन्यो । तर भौगोलिक दृष्टिले हेर्दा पूरै उपत्यका जलमग्न थिएन भन्ने बुझिन्छ । दक्षिणको केही भागमात्रै जलमग्न थियो र बाँकी भूभाग मानव वसोवास योग्य थियो । यस भूक्षेत्रमा उत्तर तथा दक्षिणबाट मानिसहरू आउजाउ गर्नसक्थे । मन्जुश्री आएर चोभारको गल्छीकाटी पानीको निकासा बनाएको तथा मानव वसोवासयोग्य बनाएर यहाँ आफूसँगै आएको धर्माकर नामका व्यक्तिलाई राजा बनाएको कुरा बौद्ध जगतमा प्रचलित भएपनि त्यसमा ऐतिहासिकता छैन । मन्जुश्रीपछि महाभारत नामको महाकाव्यमा वर्णित कृष्ण आएको प्रसङ्ग पनि भनिन्छ तर त्यसको पनि ऐतिहासिकता छैन । वंशावलीहरूकै भनाईअनुसार यहाँ गोपालवंशी जनसमुदायले राज्यसत्ता स्थापना गरेको पाइन्छ । गोपालवंशी राज्यसत्ताको प्रसङ्गलाई उपेक्षा गर्न मिल्दैन । काठमाडौंमा लामो समयदेखि बसोवास गर्दै आएका र सापू भनेर पहिचान बनाएकाहरू अहिले नेवारमा पाइन्छन् । काठमाडौंको एउटा पुरानो वस्ती किलागलमा यिनीहरूको बसोवास पाइन्छ । सापूको अर्थ गाई पाल्ने मानव समुदाय । यही सापूलाई संस्कृत भाषामा अनुवाद गरी गोपाल भनेको हो । प्राचीन कालमा यो समुदायको बसोवास कीर्तिपुर तथा थानकोट भेकमा भएको कुराको सङ्केत पाइन्छ । यसरी नै थानकोट पारी चित्लाङ, तिस्तुङ, पालुङ, आदि क्षेत्रमा यो जनसमुदायको बाहुल्यता वर्तमानमा पनि पाइन्छ । त्यस भेकका वासिन्दालाई लिच्छविकालमा सम्बोधन गर्दा ‘नेपालहरू’ भनेर बहुबचनमा सम्बोधन गरेको पाइन्छ । यहाँ ‘नेपाल’को तात्पर्य नेवार हो । त्यस क्षेत्रका वासिन्दाहरूको पहिचान नेवारकै रुपमा गरिन्छ । 

सापू वा गोपालवंशको लामो राज्यसत्तापछि महिषपालवंशले राज्यसत्ता कायम गरेको वर्णन वंशावलीमा पाइन्छ । मेष वा राङ्गा पाल्नेलाई नेवारमा मेयपू भन्ने गरिन्छ र मेयपूको अर्थ महिषपाल हो । यी सापू र मेयपूहरू किराँत होइनन् । वंशावलीअनुसार महिषपाल राज्यसत्तालाई पूर्वबाट आएका किराँतहरूले हराई किराँत राज्यसत्ता कायम गरेको थियो । राज्यसत्ता परिवर्तन हुँदैमा जनसमुदाय पनि परिवर्तन हुने होइन । खुवालुङ भई माथि पहाडमा बसोवास गर्न थालेका किराँतहरूमध्ये एक समूह पश्चिमतिर लागेर काठमाडौं पुगेको र त्यही समूहको नायकले महिषपालहरूलाई हराई नयाँ राज्यसत्ता कायम गरेको बुझ्न सकिन्छ । किराँतहरूका पहिलो राजा यलम्बर भनिएका व्यक्ति त्यही नायक हुनु संभव छ । वंशावलीअनुसार काठमाडौं उपत्यकामा किराँतहरूले करीब छ सयवर्षसम्म राज्य गरेको थियो । काठमाडौंमा पहिल्यैदेखि बसोवास भएको र त्यसमा पूर्वबाट आएका किराँतहरू पनि थपिएको भनेर बुझ्नमा अप्ठेरो छैन । पूर्वबाट सबै किराँत काठमाडौंमा आएको नभई एक समूह आएको र यहीँ बसेको भन्न सकिन्छ । राज्यसत्ता कायम गरेर एउटा निश्चित राज्यव्यवस्था बनाएपछि तिनीहरू विस्तारै ‘एसिमिलेसन’ भएपछि तिनीहरूले अन्य किराँतलाई बाहिरिया ठान्नु वा आफ्नो भूक्षेत्रमा हुल्न नदिनु स्वाभाविक हो । काठमाडौंको रैथाने हुनथालेका किराँतले छ सय वर्षसम्म राज्यभोग गरेको पाइन्छ । 

वंशावलीले किराँतपछि यहाँ लिच्छविवंशले राज्यको चर्चा गर्दछ । यो धेरै पुरानो कुरा होइन । यति बेला इतिहासका धेरै कुराहरू खुल्दछ । ईशापूर्व छैठौं शताब्दीतिर काठमाडौं उपत्यका व्यापारिक केन्द्रको रुपमा प्रसिद्ध भइसकेको बौद्ध श्रोतले बताउँछ । यहाँ विभिन्न जातीय समुदायका मान्छेहरू पनि स्थायी रुपमा बसोवास गर्न थालिसकेका थिए । भारतबाट लिच्छविहरू आई किराँतलाई पूर्वतिर धपाएको भन्ने वंशावलीको वर्णन अलि मिल्दैन । किराँतपछि यहाँ एकपल्ट लिच्छवि राजसत्ता कायम भएको थिएन । लिच्छविअघि वर्मावंशले राजसत्ता कायम गरेको पाइन्छ । राज्यसत्ता परिवर्तन भएपछि किराँतहरू पुनः पूर्वतिर फर्केको कथनमाथि अनेक प्रश्न गर्न सकिन्छ । छ सय वर्षसम्म स्थायी बसोवास गरिसकेका किराँतहरू सजिल्यैसँग पूर्व किन फर्कन्थे र ? पूर्वतिर लाग्ने हो भने त्यता केही आकर्षणको कुरा हुनुपर्दथ्यो, यसको संभावना छैन । पूर्व नै फर्केका थिए भनेर तर्क गर्ने हो भने प्रश्न उठाउन सकिन्छ, पूर्व गएका किराँतहरूले काठमाडौंबाट संस्कार, संस्कृति तथा अन्य चालचलन के लिएर गए होला ? वर्तमानको पूर्वीय सामाजिक तथा सांस्कृतिक जनजीवन हेर्दा त्यहाँ काठमाडौंको कुनै प्रभाव पाइँदैन । 

किराँत राज्यसत्ता गुमेपनि किराँत जनसमुदाय अन्यत्र नलागेको र काठमाडौंमा नै बसोवास गरेको देखिन्छ । यिनीहरू राज्यसत्ता गुम्नुअघि नै काठमाडौं उपत्यकामा ‘एसिमिलेटेड’ भइसकेका थिए । ती किराँतीहरू नेवारमा अब को को हुन् त भनेर खोज्नु बडो कठिन छ । ज्यापू नै किराँत हुन् भन्ने भनाई पनि पाइन्छ तर सबै ज्यापू किराँत नभएर किराँतहरू ज्यापूभित्र घुलन भएको हुनु धेरै संभव छ । हाल किराँत भनेर चिनारी दिने पूर्वका किराँत जनसमुदायको अनुहार तथा नापनक्सा सबै ज्यापूसँग मिल्दैन ।

भाषागत रुपमा विचार गर्दा किराँत र नेवारको भाषामा धेरै समानता पाइन्छ । लिच्छविकालमा राखिएका शिलालेख प्रयुक्त करीब दुई सय पचास गैरसंस्कृत शब्दहरू किराँत भाषाका हुन् भन्ने भनाई तर्कसंगत छैन । ती कतिपय गैरसंस्कृत शब्दहरू वर्तमानमा नेवारको नेपालभाषामा अझै पनि प्रचलित छ्न् । तिब्बती–बर्मेली भाषा परिवार भनेको किराँत भाषामात्रै हुँदैन, यसमा अनेकौं भाषा हुन्छन् । ती शब्दहरूको नजिक नजिक अन्य थुप्रै भाषाहरू हुनु स्वाभाविक हुने भएकोले लिच्छविकालका शिलालेखहरूमा आएका गैरसंस्कृत शब्दहरूलाई किराँत भाषा भनिहाल्नु उचित होइन । 

नेवार कुनै एउटै नश्लको समाज होइन । उपत्यकामा प्राचीन समयमा बसोवास गर्ने जातीय समुदाय र पछि आएका विभिन्न नश्ल, भाषा, धर्म, संस्कार, संस्कृतिबीच अन्तरघुलन हुँदै विकास भएको एउटा सभ्यताको नाम नै नेवार हो । अचम्मको कुरा काठमाडौंमा चारैतिरबाट आएकाहरू यतै बिलाएको पाइन्छ, यहाँबाट फर्केको पाइँदैन । यस सन्दर्भमा किराँतको आफ्नै इतिहास भएपनि काठमाडौं उपत्यका वा नेवारसन्दर्भमा किराँत एउटा हिस्सा हो, नेवारबाट अलग होइन किनभने त्यति बेलाका किराँतहरू नेवारभित्र बाँचिरहेका छन् । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

नेवार समाजमा प्रचलित ‘सम्हय् बजि’लाई विभिन्न परिकारसहितको नेवार खाजा सेट भन्ने अर्थमा मात्र बुझ्नु वास्तवमा यसबारे केही ...

यँयाः (इन्द्रजात्रा)को कथामा इतिहासको खोजी

यँयाः (इन्द्रजात्रा)को कथामा इतिहासको खोजी

प्रायः सोचिरहेको हुन्छु, इतिहास कसरी हराउँदै जान्छ र मिथकका रुपमा कथा कहानीहरू किन बढ्दै जान्छ ? हिन्दू धर्मका पुराणहरूम...

नेवाःले नेवारलाई गाली गर्न थालेपछि

नेवाःले नेवारलाई गाली गर्न थालेपछि

कतिपय नेवारलाई के लाग्छ भने, आफूहरु नेवाः हो, नेवाः नै भन्नुपर्छ । गैर......

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम

इन्द्रजात्रा नाममा प्रसिद्ध सांस्कृतिक उत्सवलाई नेवार भाषामा यँयाः......

होस/बेहोस (लघुकथा)

होस/बेहोस (लघुकथा)

मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा......

बौद्ध चारधामको महत्व

बौद्ध चारधामको महत्व

विश्व बौद्धजगत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बोधिलाभस्थल बोधगया, प्रथम धर्मचक्रप्रवत्र्तनस्थल सारनाथ र महापरिनिर्वाणस्...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्